बिहिबार, बैशाख ३, २०८३

28.1 C
Bhaktapur
बिहिबार, बैशाख ३, २०८३
28.1 C
Bhaktapur
HomeNews Contentजीवनशैलीकोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ विमोचन तथा परिचर्चा सम्पन्न

कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ विमोचन तथा परिचर्चा सम्पन्न

भक्तपुर । कवि, राजनीतिक विश्लेषक तथा शिक्षाकर्मी डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को विमोचन तथा परिचर्चा कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ।

अनुशीलन नेपाल र भक्तपुर रोम्बस सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उनको छैटाैं कविता सङ्ग्रह विमाेचन गरिएको हाे ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार सूर्यप्रसाद लाकोजूको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा शिक्षक तथा कवयित्री अम्बिका धिताल सहभागी थिइन्।

कार्यक्रममा प्रमुख अतिथि सूर्यप्रसाद लाकाेजु, विशेष अतिथि अम्बिका धिताल र सम्पादक जीवनाथ अधिकारीले संयुक्त रूपमा कवितासङ्ग्रहको विमोचन गरेका थिए। सो अवसरमा प्रमुख अतिथि सूर्यप्रसाद लाकोजूले डा. कोजूका कविताहरू विचारप्रधान, चेतनामूलक र समाजसँग प्रत्यक्ष संवाद गर्ने प्रकृतिका रहेको उल्लेख गरे। उनले “कविताले मानिसलाई ऊर्जा प्रदान गर्छ, अक्षरले मानिसलाई जोड्छ, तर राजनीतिले मानिसलाई विभाजन गर्छ,” भन्दै साहित्यको एकतामूलक भूमिकालाई औंल्याए।

लाकोजूले सृजनाका लागि साधना र अध्ययन अपरिहार्य रहेको बताउँदै वर्तमान समयमा कृत्रिम बुद्धिमत्ता (एआई) ले समेत कविता लेख्ने सन्दर्भ उठाए। उनले एआईमार्फत सिर्जना हुने कविताले सर्जकको मौलिकता र व्यक्तित्वलाई चुनौती दिन सक्ने भन्दै सच्चा सृजनाका लागि मानवीय संवेदना, अनुभव र साधनाको महत्व झनै बढेको उल्लेख गरे। साथै उनले शिक्षाकर्मीले साहित्य सिर्जना गर्दै समाजमा प्रेरणादायी व्यक्तित्व निर्माण गर्ने भूमिका खेलेको बताउँदै “कविता व्यक्तिको रहर मात्र होइन, यो समाजप्रतिको उत्तरदायित्व पनि हो,” भने।

विशेष अतिथि अम्बिका धितालले कविताका विभिन्न आयाम, संरचना र तत्वबारे चर्चा गर्दै कविताले समाजका पीडा, विद्रोह र चेतनालाई अभिव्यक्त गर्ने माध्यमका रूपमा काम गर्ने बताइन्। उनले डा. कोजूका कवितामा अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध सशक्त स्वर रहेको उल्लेख गर्दै यस्ता सिर्जनाले समाजमा चेतना र परिवर्तनको आधार निर्माण गर्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रमका वक्ताहरूले स्रष्टाको अनुभव, अध्ययन र सामाजिक प्रतिबद्धताबाट जन्मिएका सिर्जनाहरूले समाजलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ मा कुल १११ वटा मध्यम आकारका कविता तथा १६ वटा चार हरफे मुक्तक शैलीका कविता समावेश छन्। कविताहरूले व्यक्ति, समाज, राजनीति, नैतिक मूल्य, मानवीय संवेदना र चेतनाका विविध पक्षलाई समेटेका छन्।

कार्यक्रममा सञ्चारकर्मी हरिसुन्दर छुकांले डा. कोजूको जीवनी, कवित्व र कृतित्वमाथि विस्तृत प्रस्तुति दिएका थिए। उनले डा. कोजूको साहित्यिक यात्रालाई साधना, अध्ययन र समाजप्रतिको उत्तरदायित्वसँग जोडिएको निरन्तर सृजनात्मक साधनाका रूपमा व्याख्या गरे। उनका अनुसार डा. कोजूले शिक्षण पेशासँगै साहित्य सिर्जनालाई जीवनको अभिन्न अङ्गका रूपमा अघि बढाएका छन्।

त्यसैगरी कवि डिल्लीप्रसाद मूलतिहुनले कवितावाचन गर्दै कार्यक्रममा साहित्यिक ऊर्जा थपेका थिए। कार्यक्रममा स्वयं स्रष्टा डा. कोजूले पनि आफ्नो नयाँ कृतिबाट चयन गरेका कविताहरू वाचन गरेका थिए। उनको कवितावाचनले कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूलाई भावनात्मक र वैचारिक रूपमा गहिरो प्रभाव पारेको थियो। विमाेचन तथा परिचर्चा कार्यक्रममा साहित्य, शिक्षा र सामाजिक चेतनाबीचको सम्बन्धमाथि विमर्श गरिएको थियो। उनले आगामी दिनमा शिक्षकहरूकाे रचना संकलन गरी कविता सङ्ग्रह प्रकाशित गर्ने समेत घाेषणा गरे ।

डा. कोजूका प्रकाशित कृतिहरूमा घोडा उसको वा ऊ घोडाको?´,विशेषणमा बाँचेको देश, हृदयका प्रतिबिम्ब´ (संयुक्त कवितासङ्ग्रह),चित्र र चरित्र´, इमानको धरहरा´ (कवितासङ्ग्रह) तथानिर्भीक आवाजहरू´ (लेखसङ्ग्रह) रहेका छन्। यी कृतिहरूमार्फत उनले समाजका यथार्थ, मानवीय संवेदना, नैतिकता र समकालीन विडम्बनालाई साहित्यिक अभिव्यक्तिमा उतारेका छन्।

कार्यक्रमको उद्घोषण डा. मेरिट कोजूले गरेकी थिइन् भने सभापतित्व अनुशीलन प्रकाशनका अध्यक्ष जीवनाथ अधिकारीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको