आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषमाटो ओसारपसारमा संलग्नलाई कारबाही र उत्खनन नियन्त्रण गर्न स्थानीयको माग

माटो ओसारपसारमा संलग्नलाई कारबाही र उत्खनन नियन्त्रण गर्न स्थानीयको माग


  1. ताथलीमा नागरिक सुनुवाइ सम्पन्न
    प्रहरी प्रभाग जगाति र चाँगुनारायण नगरपालिका–९ को संयुक्त आयोजनामा वडाको शान्ति सुरक्षा र नागरिक–प्रहरी सम्बन्धबारे नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न।
  2. अवैध माटो ओसारपसार र उत्खननविरुद्ध स्थानीयको कडा आवाज
    सहभागी नागरिकहरूले अनियन्त्रित माटो दोहनले वातावरणीय सन्तुलन बिग्रिएको र जनजीवन असहज बनेको भन्दै तत्काल नियन्त्रण र नियमनको माग।
  3. वडाको सिफारिस नहुँदा पनि नगरपालिकाबाट अनुमति दिएको आरोप
    वडाले सिफारिस नगर्दा पनि नगरपालिकाबाट सिफारिस दिइएकाले माटो तस्करी बढेको भन्दै सिफारिसकर्ता र दोषीमाथि अनुसन्धान र कारबाहीको माग।
  4. ताथली–नाला सडकमा बढ्दो दुर्घटना र असुरक्षा
    माटो बोकेका टिपर–ट्रकको अनियन्त्रित आवागमनका कारण सवारी दुर्घटना, चोरी–डकैती र रात्रीकालीन अपराध बढेको स्थानीयको गुनासो।
  5. वडा अध्यक्षको भनाइ : इमानदारी भए समाज सुरक्षित
    वडा अध्यक्ष गणेश त्यातले सबै निकायले इमानदारीपूर्वक काम गरे मात्र समाज सुरक्षित हुने भन्दै अवैध माटो उत्खननबारे दैनिक गुनासा आउने गरेको खुलासा।
  6. लागूऔषध दुर्व्यसन गम्भीर समस्या
    युवापुस्तामाझ लागूऔषध दुर्व्यसन बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि प्रहरी, स्थानीय सरकार र समुदायबीच समन्वय आवश्यक रहेको धारणा।
  7. प्रहरीको प्रतिबद्धता र स्थानीय सहयोगको आग्रह
    जगाती प्रहरी वृत्तले अवैध गतिविधि नियन्त्रणमा प्रतिबद्धता जनाउँदै नागरिकबाट प्राप्त सूचनालाई गोप्य रूपमा अनुसन्धान गर्ने विश्वास दिलायो।

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीमा वडाको शान्ति सुरक्षा तथा नागरिक–प्रहरी सम्बन्धलाई केन्द्रमा राखेर नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। प्रहरी प्रभाग जगाति र चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको संयुक्त आयोजनामा भएको सुनुवाइमा स्थानीयवासीले अवैध रूपमा भइरहेको माटो ओसारपसार र अनियन्त्रित उत्खनन तत्काल नियन्त्रण गर्न सामूहिक आवाज उठाएका छन्।

सुनुवाइमा सहभागी नागरिकहरूले बढ्दो माटो तस्करीका कारण वातावरणीय सन्तुलन खल्बलिएको र ताथलीवासीको दैनिकी असहज बन्दै गएको उल्लेख गर्दै जनप्रतिनिधि र प्रहरीले तत्काल प्रभावकारी समाधान लागू गर्न माग गरे। ताथली–नाला सडक खण्डमा दिनानुदिन बढ्दै गएको सवारी दुर्घटना, चोरी–डकैती तथा लागूऔषध दुर्व्यसनजस्ता समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले जनजीवन असुरक्षित बन्दै गएको उनीहरूको भनाइ थियो।

सहभागीहरूले माटो तस्करको चङ्गुलमा प्रहरी, प्रशासन र जनप्रतिनिधिसमेत परेको आरोप लगाए। “वडाले सिफारिस नगर्दा पनि नगरपालिकाबाट कसरी सिफारिस भयो ? ती सिफारिसकर्ता को हुन् ? यस विषयमा गम्भीर अनुसन्धान हुनुपर्छ र दोषीमाथि कारबाही गर्नुपर्छ,” उनीहरूले माग गरे।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–९ का वडा अध्यक्ष गणेश त्यातले सबै वर्ग, क्षेत्र र निकायले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। “सबैले आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गरे समाज आफैं सुरक्षित बन्छ,” उनले भने। स्थानीयका गुनासा समाधानका लागि नगरपालिकासँग समन्वय गरी आवश्यक कदम चालिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

वडा अध्यक्ष त्यातका अनुसार पछिल्लो समय घडेरी सम्याउने नाममा सिफारिस लिइए पनि तोकिएको सीमाभन्दा बढी माटो उत्खनन भइरहेको छ। वडाबाट सिफारिस नदिँदा पनि नगरपालिकाबाट सिफारिस ल्याएर अवैध रूपमा माटो चोरी गर्ने प्रवृत्ति बढेको उनले बताए। अवैध माटो ओसारपसारले वातावरणीय क्षतिसँगै बस्ती, सडक र कृषि भूमिसमेत जोखिममा परेको उल्लेख गर्दै उनले यस विषयमा दैनिक गुनासा आउने गरेको जानकारी दिए।

नागरिक सुनुवाइमा ताथली–नाला सडक खण्डको अवस्था पनि विशेष रूपमा उठान गरिएको थियो। माटो बोकेका टिपर र ट्रकको अनियन्त्रित आवागमनका कारण सवारी दुर्घटनाको जोखिम बढेको, विद्यार्थी, पैदलयात्री तथा स्थानीय बासिन्दा असुरक्षित बनेको गुनासो गरिएको छ। रातिको समयमा समेत माटो ओसारपसार हुने गरेकाले चोरी र डकैतीजस्ता आपराधिक गतिविधि बढेको स्थानीयको भनाइ छ।

नेमकिपा ताथलीका अध्यक्ष राजाराम छुकांले बनेका नीतिनियम कडाइका साथ लागू गर्न प्रहरीले तदारुकता देखाउनुपर्ने बताए। उनले नागरिक सुनुवाइलाई टोल–टोलसम्म विस्तार गर्न सके मात्र वास्तविक समस्या उजागर हुने धारणा राखे।

पत्रकार हरिसुन्दर छुकांले अवैध माटो उत्खननलाई नीतिगत कमजोरी र कार्यान्वयनको अभावसँग जोड्दै यसबारे सार्वजनिक बहस र सूचनाको प्रवाह आवश्यक रहेको बताए। उनले अवैध उत्खननलाई सामान्य समस्या ठान्न नहुने उल्लेख गर्दै यसले दीर्घकालीन रूपमा समाज र वातावरणमा गम्भीर असर पार्ने चेतावनी दिए।

स्थानीय युवा उत्तम साखकर्मीले युवापुस्तामाझ बढ्दै गएको लागूऔषध दुर्व्यसनप्रति चिन्ता व्यक्त गर्दै भने, “लागूऔषध दुर्व्यसन अपराध, चोरी र असुरक्षासँग जोडिएको छ। यसको नियन्त्रणका लागि प्रहरी, स्थानीय सरकार र समुदायबीच समन्वय आवश्यक छ।”

वडा सदस्यद्वय कमला गिरी र सुमित्रा दर्जीले वडावासीका गुनासा जायज रहेको उल्लेख गर्दै माटो उत्खनन र ओसारपसारमा पारदर्शी प्रक्रिया अपनाउनुपर्नेमा जोड दिए। वडाबाट दिइने सिफारिसको दुरुपयोग रोक्न स्पष्ट मापदण्ड र नियमित अनुगमन आवश्यक रहेको उनीहरूको भनाइ थियो। साथै प्रहरीले नागरिकसँग विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा उनीहरूले जोड दिए।

सहकारी क्षेत्रका तर्फबाट सयपत्री सहकारीका रामप्रसाद मचामसीले अवैध गतिविधिले सामाजिक अस्थिरता बढाएको उल्लेख गर्दै समुदायको सामूहिक सक्रियता बिना समस्या समाधान हुन नसक्ने बताए। त्यस्तै नालाछाप प्रगतिशील महिला सहकारीकी मीरा वाग्लेले महिलाहरू असुरक्षाबाट प्रत्यक्ष प्रभावित हुने गरेको बताउँदै शान्ति सुरक्षा र लागूऔषध नियन्त्रणमा महिलाको सहभागिता बढाउनुपर्ने धारणा राखिन्।

स्थानीय राजकुमार बस्नेतले वडामा शान्तिपूर्ण वातावरण बनाउन विभिन्न संघसंस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताए। स्थानीय रोशन गणेजु लगायतले माटो तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरे।

जगाती प्रहरी वृत्तका प्रहरी निरीक्षक कञ्चन राजचालले नागरिकको सुरक्षा, शान्ति र अमनचयन कायम गर्न प्रहरी प्रतिबद्ध रहेको बताए। अवैध माटो उत्खनन, सवारी दुर्घटना न्यूनीकरण र लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रहरी सक्रिय रहेको उल्लेख गर्दै उनले नागरिकबाट प्राप्त सूचनालाई गोप्य तवरमा अनुसन्धान गरिने बताए। कार्यक्रममा प्रहरी नायब निरीक्षक ललिता थापाको पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको