आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरधार्मिक पर्यटनको केन्द्र बन्दै दुवाकोटको त्रिपुरासुन्दरी मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै दुवाकोटको त्रिपुरासुन्दरी मन्दिर


– हरिसुन्दर छुकां
भक्तपुर । ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाको धनी दुवाकोटमा अवस्थित त्रिपुरासुन्दरी, भद्राक्षीदेवी र मातेश्वर महादेव मन्दिर पछिल्लो भक्तजनहरूको आकर्षण बन्दै गएको छ । परम्परागत कला–संस्कृति, मौलिक वास्तुकला र आस्थासँग जोडिएको चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोटको यो मन्दिर भक्तजनहरुको आर्कषणको केन्द्र बन्दै गएको हो ।
एकै स्थानमा तीन देवदेवी रहेको सो मन्दिरको संरक्षण तथा प्रचारप्रसारले दुवाकोटको उक्त क्षेत्र धार्मिक पर्यटकका लागि उदाउँदै गरेको गन्तव्यका रूपमा परिचित बन्दै गइरहेको छ । सोही कारण उक्त मन्दिरमा दैनिक सयौं भक्तजनहरु पुग्ने गरेका छन् भने विशेष अवसरहरुमा हजारौंको घुइँचो लाग्ने गरेको छ ।

त्रिपुरा सुन्दरी मन्दिर स्थानीय समुदायको प्रमुख आस्थाको केन्द्र मानिन्छ । दशैंको नवरात्र तथा विभिन्न पर्वमा यहाँ विशेष पूजा, नित्यदेवता आराधना र सांस्कृतिक विधिहरू सञ्चालित हुने गरेका छन् । यस मन्दिरको महिमाको प्रचारप्रसारसँगै मन्दिरमा स्थानीयमात्र नभई विभिन्न जिल्लाका धर्मालम्बीहरुको उपस्थिति र सहभागिता बढ्दै गएको छ । सो क्षेत्रमा अवस्थित भद्राक्षीदेवी मन्दिरलाई शक्ति आराधनाको महत्वपूर्ण स्थल मानिन्छ । देवीको दर्शन तथा आराधनाका लागि बिहान–साँझ भक्तजनहरूको घुइँचो लाग्ने गरेको स्थानीयवासीहरू बताउँछन् । यस्तै मातेश्वर महादेव मन्दिर दुवाकोटको अर्को धार्मिक सम्पदा हो, जहाँ शिवरात्रि, सोमबारको ब्रत तथा विशेष पर्वमा ठूलो संख्यामा भक्तजनहरू पुग्ने गर्छन् ।

स्थानीयवासीका अनुसार यी तीनै धार्मिक स्थलले दुवाकोटको सांस्कृतिक पहिचानलाई टेवा पुगिरहेको छ । यसले धार्मिक पर्यटनलाई पनि सहयोग पुर्याइरहेको छ । स्थानीय तह र समुदायले संयुक्त रूपमा देवालयहरूको संरक्षण, सरसफाइ र प्रचार–प्रसारमा ध्यान दिइरहेको छ ।
दुवाकोट शब्द देवीकोटबाट अपभ्रंश भई बनेको किंवदन्ती रहेको छ । स्वस्थानी ब्रत कथामा देवीकोटबारे उल्लेख गरिएको छ । सतीदेवीको अङ्ग पतन हुने क्रममा देवीकोटमा गएर बायाँ घुँडा पतन भएको उल्लेख छ । ब्रत कथाअनुसार ‘देवीकोटमा पुगेर बायाँ घुँडा पतन भए । देवीकोट पीठ भद्राक्ष देवी ललितायोगिनी नात्यश्वर महादेव उत्पत्ति भए । शिवशक्ति स्वरुपले रहे । त्यस पुण्यभूमिमा मेष आदि बा¥ह राशि आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई वरदान माग भने मनुष्य आदि हाम्रो अधीनमा रहुन् भनी मागे ईश्वरीले तथास्तु भनी वरदान दिए ।’

सोही आधारमा देवीकोटमा सतीदेवीको बायाँ घुँडा पतन भएको प्रमाणित हुने त्रिपुरासुन्दरी भद्राक्षीदेवी मातेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुर आलेले बताए । उनले सोही स्थानमा भद्राक्षदेवी र नात्यश्वर महादेवको उत्पत्ति भएको समेत जानकारी दिए । त्यहाँ घुँडाको आकारको त्रिपुरासुन्दरी भद्राक्षीदेवी र मातेश्वर महादेवको मन्दिर अवस्थित रहेको छ ।
पौराणिक कालमा सृष्टि भएको पीठको नाम भद्राक्ष देवी ललितायोगिनी थियो भने हाल आएर यस देवीलाई त्रिपुरासुन्दरी भद्राक्षदेवी भन्ने गर्दछ । त्यस्तै पौराणिक कालमा नात्यश्वर महादेवको सृष्टि भएको थियो भने हाल उक्त महादेवको नाम मातेश्वर रहन पुग्यो । यसबाट यो स्पष्ट हुन्छ कि देवीकोट शब्दबाटै दुवाकोट हुन पुगेको हो ।

जसरी यस पुण्य भूमिमा बा¥ह राशि आई तपस्या गरि वरदान पाएका थिए हाल पनि यस स्थानमा बा¥ह राशिहरूको मूर्ति स्थापना गरेका छन् । राशिहरूले वरदान पाए झैँ त्रिपुरासुन्दरी भद्राक्षदेवी र मातेश्वर महादेवको पूजा गरेको खण्डमा आफूले चिताएको पुग्छ भन्ने जनविश्वास रही आएको छ ।
दुई वर्षअघि उक्त स्थानमा सत्तल निर्माणका लाग खन्ने क्रममा इँटाको गारो भेटिएको अवशेष मन्दिर परिसरमा देख्न सकिन्छ । सो क्रममा ‘१९६४ साल वैशाख…’ उत्कृण अभिलेख समेत फेला परेबाट त्यसको ऐतिहासिकतालाई पुष्टि गरेको छ ।

एकै स्थानमा रहेका तीन देवदेवीहरुको दर्शन गर्न पाइने भएकाले पनि यहाँको आर्कषण अन्यत्रभन्दा पृथक रहेको स्थानीयको भनाइ छ । साथै उक्त मन्दिरको दर्शन र आराधनाले कार्यसिद्धि, कार्यसफलता र मनोकामना समेत पूर्ण हुने जनविश्वास रहेको छ ।

सोही हिसाबले प्रसिद्धि पाएको मन्दिर परिसरमा सत्तल निर्माण तथा ढुङ्गे धारा निर्माणको क्रममा उत्खनन गर्दा प्राचीन भवनका जगहरु, पानी ईंटा, विभिन्न आकारका शिला, माटाका भाडाँका खपेटा, काठ, शिलालेख, किटलगायत विभिन्न प्राचीन वस्तुहरु समेत फेला परेको अध्यक्ष आलेले बताए । उक्त ठाउँमा स्तरोन्नतिका क्रममा फेला परेका ती सामग्रीसहित संग्रहालय स्थापना गर्ने योजना रहेको उनले जानकारी दिए ।

मन्दिर व्यवस्थापन समितिले विगत डेढ वर्षदेखि दैनिक सन्ध्याकालीन आरती, भजनकिर्तन तथा संकल्प पूजा समेत गरिरहेको छ । सो आरतीमा प्रत्येक दिन कुनै विशेष व्यक्तिलाई प्रमुख अतिथि बनाउने समेत गरेको छ । मन्दिरमा भएको उक्त आरतीले मन्दिरको प्रचारप्रसारमा सहयोग पुगिरहेको छ । साथै भक्तजनहरुबाट प्राप्त आर्थिक सहयोगले मन्दिरको गुरुयोजनाका कार्यहरु गर्न सहयोग पुगिरहेको मन्दिर व्यस्थापन समितिको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको