भक्तपुर । चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत उपभोक्ता समिति तथा लाभग्राही समुदायमार्फत सञ्चालन हुने सबै योजनाहरूका लागि पाैष मसान्तसम्म अनिवार्य रूपमा सम्झौता गर्नुपर्ने भन्दै अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ। समयसीमा नाघिए योजनाको प्रक्रियामा गम्भीर असर पर्ने हुँदा नगरपालिकाले सम्बन्धित सबैलाई तत्काल नगरपालिकामा सम्पर्क गर्न आग्रह गरेको हो ।
नगरपालिकाको योजना शाखाले जारी गरेको सूचनाअनुसार सार्वजनिक निर्माण सम्बन्धी कार्यविधि, २०८२ को दफा २२ ले तोकेको व्यवस्थाअनुसार योजनाको सम्झौता प्रक्रियाले तोकिएको मिति भित्रै पूरा गर्नुपर्नेछ। योजना सम्झौता समयमै सम्पन्न नगरे आर्थिक वर्षको बजेट व्यवस्थापनदेखि योजना कार्यान्वयनका चरणहरूमा समस्या उत्पन्न हुने भएकाले आफूहरू बाध्य भएर सूचना प्रकाशित गरिएको नगरपालिकाले जनाएको छ।
योजना सम्झौता मात्रै होइन, सम्झौता भइसकेका योजनाहरूको भुक्तानी प्रक्रिया पनि जेठ मसान्तभित्र आवश्यक कागजातसहित नगरपालिकामा पेश गर्नुपर्नेछ। भुक्तानी लागि आवश्यक कागजात ढिलो पेश गरिने हो भने काम सम्पन्न भएपछि पनि रकम भुक्तानीमा अनावश्यक अवरोध तथा ढिलाइ हुने नगरपालिकाको भनाइ छ।
नगरपालिकाका ९ वटै वडामा स्वीकृत योजनाहरू अघि बढाउन उपभोक्ता समिति तथा लाभग्राही समुदायको भूमिकालाई अत्यन्त महत्वपूर्ण मान्दै नगरपालिकाले योजना सम्झौता प्रक्रियामा असावधानी वा ढिलाइ नगर्न सचेत गराएको छ। धेरैजसो योजना समुदाय–आधारित मोडेलमार्फत कार्यान्वयन हुने भएकाले समितिहरूको सक्रियता र समयमै उपस्थितीले योजनाको सफलतामा ठूलो प्रभाव पर्ने बताइन्छ।
योजना शाखाका वरिष्ठ शाखा अधिकृत अनुप लामिछानेका अनुसार तोकिएको समयसीमा भित्र सम्झौता तथा भुक्तानी प्रक्रिया पूरा नगर्ने योजनाहरूलाई प्रचलित कानुनी व्यवस्था अनुसार अघि बढाइने छ। “आर्थिक वर्षभित्र योजना सञ्चालन र भुक्तानी प्रक्रिया सम्पन्न हुनुपर्ने भएकाले ढिलाइ गर्नु कुनैपनि समितिको हितमा हुँदैन,” उनले भने।
नगरपालिकाले योजनाहरू समयमै सम्झौता तथा भुक्तानी प्रक्रियामा प्रवेश गरे विकास–निर्माणका कामहरू तीव्र, प्रभावकारी र गुणस्तरीय रूपमा अघि बढ्ने आशा व्यक्त गरेको छ। योजना शाखाले सम्बन्धित समितिहरूलाई यथाशीघ्र नगरपालिकामा उपस्थित भई सम्झौता तथा आवश्यक कागजात प्रक्रियामा संलग्न हुन पनि पुनः आह्वान गरेको छ।
