भक्तपुर, २ मंसिर । चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीले वडाका विभिन्न स्थानमा स्वीकृतविना अनधिकृत रूपमा माटो ओसारपसार गर्ने कार्य बढ्दै गएपछि कडा चेतावनी जारी गरेको छ। वडावासी, जग्गा धनी, मोही र सम्बन्धित सबैलाई लक्षित गर्दै वडा कार्यालयले सूचना प्रकाशित गरेको हाे ।
कार्यालयले जारी गरेकाे सूचनामा अनधिकृत कार्य नगर्न भनेको छ । वडा अध्यक्ष गणेश त्यातले जानकारी गराउँदै भनेका छन्, “वडा समिति बैठकको निर्णय अनुसार स्वीकृतविना जग्गा सम्याउने, माटो ओसारपसार गर्ने वा गराउने कार्य पूर्ण रूपमा बन्द गर्नुपर्नेछ। यस सूचना बेवास्ता गर्ने वा उल्लङ्घन गर्ने सबैलाई वडा कार्यालयबाट दिइने सेवा–सुविधाबाट बञ्चित गरिने छ । ´
यसअघि मिति २०८२/०७/३० मा सम्पन्न वडा समिति बैठकले अनधिकृत माटो ओसारपसार र जग्गा सम्याउने काम रोक्न कडा निर्णय गरिसकेको थियो। वडाध्यक्ष त्यातले भने, “हामीले वडामा कानून, सामाजिक अनुशासन र भूमि व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौं। कुनै पनि व्यक्ति वा समूहले यसलाई बेवास्ता गरेको पाइए कानूनी र प्रशासनिक कारबाही गरिनेछ।”
वडाध्यक्षले वडावासीलाई पनि आग्रह गरेका छन् कि उनीहरूले यस्तो अनधिकृत गतिविधिमा संलग्न नहुने मात्र नभई, यसबारे जानकारी पाए तुरुन्त वडा कार्यालयलाई जानकारी गराउनुपर्छ। उनका अनुसार, वडाको शान्ति र जनताको हितका लागि सबैको सहयोग अपरिहार्य छ।
वडा कार्यालयले यस चेतावनीलाई सार्वजनिक सूचना मार्फत सम्पूर्ण वडावासी र सम्बन्धित पक्षसम्म पुर्याइसकेको छ र उल्लङ्घन भएमा कडा कारबाही सुरु गरिने जनाएको छ।
