आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentशिक्षाकिसान नेता बुढाथोकीकाे स्मृति : उत्कृष्ट विद्यार्थीलाई सम्मान

किसान नेता बुढाथोकीकाे स्मृति : उत्कृष्ट विद्यार्थीलाई सम्मान

हरिसुन्दर छुकां
भक्तपुर, २९ कार्तिक । शिक्षासेवी, समाजसेवी तथा किसान नेताका रूपमा पहिचान बनाएका भक्तपुरको सिरूटार निवासी स्वर्गीय पदमबहादुर बुढाथोकीको स्मृतिमा स्थापना गरिएको पदमबहादुर बुढाथोकी प्रतिभा कोषले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

वि.सं. २०५१ मा स्थापना गरिएको कोषले आफ्नो ३०औँ पुरस्कार वितरण तथा सुशोभन समारोहमार्फत एसईई २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, कोषका अध्यक्ष नातिबाबु बुढाथोकीलगायतका अतिथिहरूले सम्मानपत्र, पदक र नगदसहित विद्यार्थीहरूलाई सम्मान गरे।

कार्यक्रममा बोल्दै प्रा.डा. श्रेष्ठले झन्डै ३० वर्षअघि अनन्तलिङ्गेश्वर क्षेत्रको ऐतिहासिक अध्ययन गरेको स्मरण गरे। पाँच वर्ष लामो अनुसन्धानका आधारमा सिरूटार क्षेत्र मध्यकालीन इतिहासको केन्द्रका रूपमा महत्वपूर्ण रहेको उनले बताए। सिरूटार–साँगा–सूर्यविनायक क्षेत्र प्रागऐतिहासिक दृष्टिले पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले स्थानीय सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वरलगायतका धार्मिक सम्पदाले क्षेत्रको पुरातात्विक गहिराइ प्रमाणित गरेको बताए।

उनले शासन वा सत्ता परिवर्तन भए पनि संस्कृतिको अन्त्य नहुने भन्दै सांस्कृतिक जगेर्ना सबैको जिम्मेवारी भएको धारणा राखे। “मानिसलाई चिनाउने भनेकै काम हो, त्यसैले प्रत्येक काम इमानदार भएर गर्नुपर्छ,” उनले भने।

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष फणीन्द्रराज निरौलाले शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वयले मात्र गुणस्तरीय शिक्षा सुनिश्चित हुने बताए। सिरूटारमा जन्मेका व्यक्तित्वहरूले देशको राजनीतिक तथा साहित्यिक क्षेत्रमा दिएका योगदानको स्मरण गर्दै उनले नयाँ पुस्ताले देशको गरिमा उचाइमा पुर्याउनुपर्ने आवश्यकता औँल्याए।

क्यान्डिड करियर स्कुलका प्रिन्सिपल धर्मप्रसाद पौडेलका अनुसार कार्यक्रममार्फत ६ वटा विद्यालयका ११ जना विद्यार्थी सम्मानित भए।

किसान नेता बुढाथोकीले भक्तपुर र ललितपुरका किसानमा चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै पौडेलले उनका योगदानलाई प्रेरणाको स्रोतका रूपमा लिन आग्रह गरे।

कोषका सचिव इन्जिनियर रामबहादुर श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै वि.सं. २०५१ जेठमा कोष स्थापना भएको उल्लेख गरे। कोषले ललितपुरको लुभु र लामाटार तथा भक्तपुरको सिरूटार र दधिकोट क्षेत्रलाई कार्यक्षेत्रका रूपमा रहेको जानकारी दिए।

सम्मानित विद्यार्थीहरूमा क्यान्डिड करियर सेकेन्डरी स्कूल (भक्तपुर) : ४, मोडर्न स्कुल : १, अरनिको मावि : ३, बालकुन्ज स्कुल (ललितपुर) : १, भ्याली पब्लिक स्कुल : १ र फ्यूचर स्टार स्कुल : १ विद्यार्थी रहेका थिए।

सिरू वैद्विक समाजका अध्यक्ष विष्णुकाजी थापाले शिक्षासेवी बुढाथोकी पदलोभी नभएको र समुदायको हितका लागि काममा समर्पित व्यक्तित्व भएको बताए। वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले बुढाथोकीको योगदानलाई नयाँ पुस्ताले पनि सम्झनुपर्नेमा जोड दिए।

विद्यार्थीको तर्फबाट बोल्दै सिम्रन पोखरेलले उत्कृष्ट नतिजा प्राप्त गर्न विद्यालय, शिक्षक तथा अभिभावकको महत्वपूर्ण साथ रहेको बताइन्।

कार्यक्रमका सञ्चालक प्रकाश थापाका अनुसार २०८० सालदेखि सरकारी र संस्थागत दुवै प्रकारका विद्यालयका उत्कृष्ट एसईई विद्यार्थीहरूलाई सम्मान गर्ने परम्परा सुरु भएको हो। कार्यक्रममा कोषका अध्यक्ष नातिबाबु बुढाथोकीले प्रा.डा. श्रेष्ठलाई पनि सम्मान गरे ।

बुढाथोकीको जन्म वि.सं. १९६१ र निधन वि.सं. २०५१ मा भएको थियो। २००८ साल फागुनमा ‘कृषि सुधार संघ’ स्थापना गर्दै उनले किसान चेतनाको अभियान सुरु गरेका थिए।

उनी ‘नेपालमा किसान आन्दोलन’ नामक पुस्तकका लेखक पनि हुन्। अरनिको मावि तथा ललितपुरको महालक्ष्मी कलेज/ मावि स्थापना गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको