भक्तपुर, २८ कात्तिक । भक्तपुर जिल्लाकै पहिलो स्काउटका रूपमा दर्ता भएको आदर्श आजाद मावि, भेलुखेलअन्तर्गतको आदर्श आजाद स्काउट ट्रुपको स्काउट दीक्षान्त समारोह शुक्रबार सम्पन्न भयो।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख तथा नगर स्काउटका प्रमुख स्काउट रजनी जोशीको प्रमुख उपस्थितिमा ५८ जना विद्यार्थीले सदस्यता बायजसहित स्काउट दिक्षा पाए। त्यसैगरी २० जना स्काउटले ‘बेडेन पावेल शिखर बायज’ प्राप्त गरे। स्काउटले रसुवामा रहेको एक हिमशिखरलाई बेडेन पावेल शिखर नाम दिएको छ।
स्कार्फ र बायज वितरण गर्दै जोशीले स्काउटले विपद् व्यवस्थापनमा गरेका कामको प्रशंसा गर्दै भनिन्, “भक्तपुरमा अनुशासन, कर्तव्यबोध र स्वयंसेवी भावना भएका युवा तयार गर्न स्काउटलाई अनिवार्यतर्फ लैजाँदै छौँ।” उनको अनुसार, स्काउटमा सहभागीताले विद्यार्थीमा मातृभूमिप्रतिको सेवा भावना विकास हुन्छ र दैनिक तालिका बनाएर समय–व्यवस्थित जीवनशैली अपनाउन सिकिन्छ ।
विद्यालय व्यवस्थापन समिति तथा वडा नं. ५ का अध्यक्ष योगेन्द्रमान विजुक्छेंले लगन, मेहनत र निरन्तर प्रयासले मात्र सफलता सम्भव हुने बताए। उनका अनुसार, स्काउट युवालाई हार–जीत स्वीकार्दै कर्म गर्न सिकाउने महत्वपूर्ण थलो हो।
नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले समयको महत्व जोड दिँदै डायरी र समय तालिका बनाउन सके हरेकको जीवन सहज बन्ने विचार राखे।
नेपाल स्काउट भक्तपुर नगरका स्थानीय आयुक्त बालकृष्ण बनमालाले स्काउट प्रकृतिसँग नजिक हुने भएकाले प्रकृति र जीवजन्तुप्रति दया राख्न सिकाउने बताए। मितव्ययिताको शिक्षा पनि स्काउटको महत्वपूर्ण भाग भएको उल्लेख गरे। सदस्यता वृद्धि आयुक्त पूर्णभक्त दुवालले स्काउटमार्फत व्यवहारिक र जीवनोपयोगी सीप सिकाइने बताए।
आदर्श आजाद स्काउट ट्रुपका स्काउटर रत्नश्वरी चवालले स्काउटले इमानदार र जिम्मेवार नागरिक तयार गर्ने भएकाले प्रत्येक परिवारमा एकजना स्काउट सदस्य आवश्यक रहेको धारणा राखिन्।
विद्यालयका प्राचार्य चक्रबहादुर चाकतूले विगतमा स्काउट सञ्चालनमा समस्या भए पनि अहिले सहज बन्दै गएको र विद्यालयले पूर्ण प्रतिवद्धताका साथ स्काउट सञ्चालन गरिरहेको बताए। कार्यक्रमको सञ्चालन स्काउटर रुबिना छुस्याबागले गरिन्।
