भक्तपुर, कार्तिक २७। विद्यार्थीको सिर्जनशीलता, अभिनय–कला र आत्मविश्वासलाई राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले भक्तपुरमा पहिलोपटक अन्तर–विद्यालय नाटक प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। नेसनल प्याब्सन भक्तपुरअन्तर्गत आयोजित कार्यक्रम सूर्यविनायक–९ स्थित मदरल्याण्ड स्कुलको आयोजनामा सम्पन्न भएको हो।
यस ऐतिहासिक प्रतियोगितामा ऋतम्भरा पाठशालाले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेको छ। त्यसै गरी ईडेन गार्डेन द्वितीय, संस्कार गुरूकूल तृतीय तथा विमल मेमोरियल विद्यापीठले सान्त्वना स्थान प्राप्त गरे।
- विषयगत उत्कृष्टता पुरस्कारहरू यस प्रकार छन् :
- उत्कृष्ट कलाकार : यूनिशा खत्री (आरक्षण नेसनल स्कुल)
- उत्कृष्ट प्रस्तुति : पाथिभरा एकेडेमी
- उत्कृष्ट निर्देशन : क्वालिटी स्कुल
- उत्कृष्ट सन्देश : यूनिटी स्कुल
- उत्कृष्ट मञ्च व्यवस्थापन : जागृति विद्या सदन
- उत्कृष्ट कथाको सबटाइटल : संस्कार गुरूकूल
मुख्य अतिथि तथा निर्णायक केदार श्रेष्ठले विद्यालय तहमा नाटक प्रतियोगिता आयोजना हुनु नै महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै कार्यक्रमको खुलेर प्रशंसा गरे। उनले विद्यार्थीलाई नाटक माध्यमबाट अनुशासन, भाव–अभिव्यक्ति र सामाजिक विषयबस्तु बुझ्ने अवसर प्रदान हुने बताए।
नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अभिनयकला र नाटकले विद्यार्थीमा नेतृत्व, आत्मविश्वास र सामाजिक मूल्यको विकास हुने भएकाले यस्ता कार्यक्रमले सकारात्मक सामाजिक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रम मदरल्याण्ड स्कुलकी सञ्चालक शर्मिला देउजाको सभापतित्वमा सम्पन्न भएको हो। निर्णायक मण्डलमा प्रख्यात नायिका तथा नाटक प्रशिक्षक आरती गौतम र थिएटर कलाकार अडेन बात्री सहभागी थिए, जसले प्रत्येक प्रस्तुति सूक्ष्म मूल्यांकन गरेका थिए।
कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका सल्लाहकार जिवी खड्का, जिल्ला पदाधिकारी, सदस्य तथा विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उल्लेख्य उपस्थिति रहेको जानकारी कार्यक्रम संयोजक विष्णु प्रसाद दुवालले दिए।
