मध्यपुर ठिमी, भक्तपुर । संस्कार र अनुशासनमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई विश्व नागरिक बनाउन प्रतिबद्ध विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले जापानीज विशिष्ट पाहुनाहरूको स्वागतमा भव्य कार्यक्रम आयोजना गरेको छ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको विशेष निमन्त्रणामा आयोजित उक्त कार्यक्रममा जापानका ओट्सुकी सहरका मेयर नोबुयासी कोबुयासी, नेपाल–जापान मैत्री संघका अध्यक्ष हिरोनी इसीवोका, मुख्य सचिव कोजुया सुकीमोतो, हुकुतो सहरका पोलिसी डाइरेक्टर हाजिमे ओसिवा र उद्योग तथा पर्यटन विभागका निर्देशक सिन्जी यामादा सहितको प्रतिनिधिमण्डल सहभागी भएको थियो।
जापानी पाहुनाहरूले नेपाल बुद्धको जन्मभूमि भएको तथ्य स्मरण गर्दै बुद्धका सिद्धान्त, मौलिक कला–संस्कृति र प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिए। उनीहरूले अनुशासन र संस्कारलाई जीवनको मूलमन्त्र मानी अघि बढ्दा नेपालले विश्व समुदायमा अझ सम्मानजनक स्थान पाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले नेपाल–जापानबीचको शैक्षिक र सांस्कृतिक आदानप्रदानले विज्ञान, प्रविधि र ज्ञानको विकासमा सकारात्मक प्रभाव पार्ने बताए। उनले कार्तिक २ गतेदेखि १७ गतेसम्म सम्पन्न जापान भ्रमणका क्रममा जापानी जनताले देखाएको सद्भाव र सहयोगप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।
सांस्कृतिक प्रस्तुतिमा विद्यार्थीहरूले अष्टमातृका नृत्य, नेपाली–नेवारी बाँसुरीको धुन र झण्डा प्रदर्शनमार्फत दुवै देशबीचको मित्रता र सम्मानको सन्देश प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित पाहुनाहरू विद्यालयका विद्यार्थीहरूको प्रतिभा र संस्कारप्रति प्रभावित भएका थिए।
