भक्तपुर । वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबीच बिहीबार चार वर्षका लागि समझदारी पत्र (MoU)मा हस्ताक्षर भएको छ। कलेजको तर्फबाट प्राचार्य धनकुमार श्रेष्ठ र कन्फ्युसियस इन्स्टिच्युटका निमित्त निर्देशक डा. बलराम दुवालले सम्झौतापत्रमा हस्ताक्षर गरे।
त्रिभुवन विश्वविद्यालयमा सञ्चालित कन्फ्युसियस इन्स्टिच्युट पूर्वी चीन प्रविधि विश्वविद्यालय र चीनको छिंगहाइ मिन्जु विश्वविद्यालयको संयुक्त सहयोगमा स्थापना भएको संस्था हो। यसले नेपालमा चिनियाँ भाषा शिक्षा, शैक्षिक सहकार्य तथा चीन–नेपालबीच भाषिक र सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
सम्झौता अनुसार वागीश्वरी कलेजमा चिनियाँ भाषा शिक्षण बिन्दु स्थापना गरिनेछ। कलेजका विद्यार्थी र कर्मचारीका लागि क्रेडिट र नन–क्रेडिट चिनियाँ भाषा कक्षा सञ्चालन, आवश्यक पाठ्यक्रम, पाठ्यपुस्तक र सामग्री विकासमा सहयोग गर्ने व्यवस्था रहेको छ।
सम्झौता कार्यक्रममा अफिस अफ इन्टरनेशनल को–अपरेसन एन्ड एक्सचेन्जका उप–निर्देशक छेन योङ्गले दुवै पक्षबीचको सहकार्यले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे। कलेज अफ इन्टरनेशनल एजुकेशनका विदेश मामिला अधिकृत चाओ यानुका अनुसार छिंगहाइ विश्वविद्यालय हाल करिब ५० विश्वविद्यालयसँग सहकार्यरत छ र ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
कन्फ्युसियस इन्स्टिच्युटका निमित्त निर्देशक डा. दुवालले सम्झदारीले दुवै संस्थाबीच पारस्परिक रूपमा लाभदायक सहकार्य अघि बढ्ने बताए। वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठका अनुसार समझदारीअनुसार चिनियाँ भाषा, संस्कृति, इतिहास, अर्थशास्त्र, सामाजिक र राजनीतिक विषयसँग सम्बन्धित गतिविधि सञ्चालन गरिनेछ। साथै अनुसन्धानमा सहकार्य गर्ने, चीनका विश्वविद्यालयसँग संस्थागत सम्बन्ध विस्तार गर्ने प्रावधान पनि सम्झौतामा समावेश छ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिका अनुसार कलेजले पहुँचयोग्य, किफायती र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै विद्यार्थीमा बौद्धिक विकास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व बढाउने उद्देश्यसहित अघि बढिरहेको छ।
सम्झौता कार्यक्रममा नेसनल ल्याङ्ग्वेज कन्झरभेसन एन्ड प्रोमोशन सेन्टरका प्रमुख लिउ यानहङ, कलेज अफ इन्टरनेशनल एजुकेशनका संयोजक सुन फुल, चिनियाँ विश्वविद्यालय प्रतिनिधिहरू तङ हाइसिया, सिन चिनमङ, लाङ चुन्चे, तङ छफाङ, हान छुनमिङ, सिया स्मङ, चियाङ फिङ र छङ चुइङ सहभागी थिए।
वागीश्वरी कलेज तर्फबाट संयोजक ज्ञानसागर प्रजापति, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, बागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद कर्माचार्य, मानविकी संकाय प्रमुख राजन फेलु लगायतको उपस्थिति थियो।
