भक्तपुर । तराईको मूल धार्मिक–सांस्कृतिक पर्व छठ अहिले उपत्यकासहित भक्तपुरमा पनि धमाधम मनाइँदैछ। प्रत्येक वर्षको जस्तै यस वर्ष पनि भक्तपुरका विभिन्न पाेखरी, खाेला र घाटमा भक्तजनको भीड लागेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने छठ पर्व अहिले भक्तपुरका विभिन्न स्थानमा धार्मिक उत्साहका साथ मनाइँदैछ।
भक्तपुरमा बसोबास गर्ने मिथिला, भोजपुरी, थारु लगायतका समुदायका मानिसहरूले मात्रै नभई, स्थानीय नेवार र पहाडी समुदायका नागरिकले पनि पछिल्ला वर्षमा यो पर्वप्रति रुचि र श्रद्धा बढाएको देखिन्छ।
छठीमाईको आराधना र सूर्यदेवलाई अर्घ्य दिने विधिबाट सम्पन्न हुने यो पर्वमा ब्रतालु महिलाहरूले चार दिन उपवास बस्दै शुद्धता, संयम र भक्ति प्रदर्शन गर्छन्। भक्तपुरको ऐतिहासिक नागदहमा पनि छठ पर्व अन्तरगत साेमबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइ पर्वको समापन गरिनेछ।
चाँगुनारायण नगरपालिका वडा नं. ४ चाँगुकाे संखदहस्थित नागदहमा छठ मेला लागेकाे स्थानीय दिनेश खनालले जानकारी दिए । स्थानीय, नगरपालिकालगायतका विभिन्न निकायकाे आर्थिक र भाैतिक सहयोगमा नागदहकाे पूनर्निर्माणसँग पाेखरीकाे स्वरूप फेरिएपछि साे पाेखरीमा छठ मनाउने ब्रतालुहरूकाे संख्या बढ्दै गएको छ ।
उक्त पाेखरीमा यो वर्ष हपहिलो छठ मेला लागेकाे हाे । पाेखरीमा एक दर्जन ब्रतालुहरू छन् । उक्त ठाउँमा लागेकाे छठ मेलाकाे व्यवस्थापन विश्वादर्शन अभियान नेपाल र चाँगुनारायण नगरपालिकाले संयुक्त रूपमा गरेकाे छ ।
माधवनारायण ब्रतकाे समयमा मात्र मेला लाग्दै आएको उक्त पाेखरीमा छठ मेला समेत सुरू भएपछि पाेखरीकाे महिमा वृद्धि भएको स्थानीयले बताए ।
छठ पर्वलाई धर्ममै सिमित नभई सामाजिक सद्भाव र सहअस्तित्वको प्रतीकको रूपमा लिइन्छ। उपत्यकाका विविध पृष्ठभूमिका मानिसहरू एकै घाटमा भेला भएर अर्घ्य दिने दृश्यले भक्तपुरमा संस्कृति र विविधताको सुन्दर संगम देखाएको छ। यसकाे राैनक भक्तपुरको कमलपाेखरीमा पनि देखिएको छ ।
