आइतवार, मंसिर ७, २०८३

21.1 C
Bhaktapur
आइतवार, मंसिर ७, २०८३
21.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रउपन्यासको प्रतिक्षामा रहेका पाठकीय अनुभूति : नयाँ पुस्ता - समाज, राजनीति र...

उपन्यासको प्रतिक्षामा रहेका पाठकीय अनुभूति : नयाँ पुस्ता – समाज, राजनीति र पुस्तान्तरणको बहस

– पानसिं तोमर

“आमा, मानिस र साथीहरू सबै बेइमान हुँदैनन्।”


हिन्दी किताबलाई केही समयका लागि साइडमा राखेर हरिबहादुर श्रेष्ठद्वारा लिखित कथा सङ्ग्रह ‘नयाँ पुस्ता’ पढेर सकाएँ। आख्यान बढी पढ्ने बानी भएर पनि कथा पढ्न म त्यति रुचाउँदिनँ। अझ छोटा कथाहरू त स्वाद लिन नपाउँदै सकिने चकलेटजस्तै लाग्छन्। कथा सुरु भएर पात्र र परिवेशसँग परिचित हुँदै गर्दा नै सकिइहाल्ने भएकाले पनि छोटा कथाप्रति मेरो रुचि अलि कम छ। तर ‘नयाँ पुस्ता’ पढ्दै गर्दा कतिपय कथाले भने मेरो यही मान्यतालाई चुनौती दिए।
सायद यो हरिबहादुर श्रेष्ठको तेस्रो कथा सङ्ग्रह हो। यसमा लामा र छोटा गरी जम्माजम्मी २४ वटा कथा समेटिएका छन्। सङ्ग्रहका लामा कथामध्ये ‘कल्पना’ र ‘नयाँ पुस्ता’ विशेष उल्लेखनीय छन्। त्यस्तै, ‘एक संवाद’, ‘छोरी’, ‘किसानको आक्रोश’ र ‘विवाह–एक दुःस्वप्न’ जस्ता छोटा कथाले पनि आफ्नो विषय र प्रस्तुतिका कारण ध्यान खिच्छन्।
‘अखबार पुर्याउने केटो’ र ‘दिदीको डायरी’ शीर्षक पढ्दै आकर्षित गर्ने कथाहरू हुन्। यी कथा पढिसकेपछि भने मनमा एउटा कुरा आउँछ– अझै केही लामो भएको भए हुन्थ्यो! पात्र र घटनासँग पाठकको सम्बन्ध गाँसिन थालेपछि कथा टुङ्गिन्छ। सायद यही नै कथाकारको प्रस्तुतिगत विशेषता पनि होला।

‘कल्पना’ : एउटा घरभित्र समाज र देशको चित्र
‘कल्पना’ कथा पढिरहँदा अझै नसकिए हुन्थ्यो जस्तो लाग्छ। कथाको विषयवस्तु, पात्रहरूको संवाद र त्यसमा उठाइएका सामाजिक तथा राजनीतिक प्रसङ्गले पाठकलाई अन्तिमसम्म बाँधिराख्छन्।
यो कथा पढ्दा मलाई एकपटक पुस्तक प्रदर्शनीको आयोजना गर्नुअघि अतिथि आमन्त्रण गर्न जाँदा दाइले सुनाउनुभएको एउटा प्रसङ्ग पनि सम्झना आयो। उहाँले कुनै शीर्षक नदिई लेख्दै गर्नुभएको अप्रकाशित युवा उपन्यासबारे सुनाउनुभएको थियो। ‘कल्पना’ पढ्दै गर्दा त्यही अधुरो साहित्यिक प्रसङ्गको स्मरण भयो।
कथामा बन्धुलाई अञ्जनाले भनेको एउटा संवाद निकै अर्थपूर्ण छ–“तिमीलाई चित्तमा उचित नलागेको विषयमा बोल्दैनौ, हाँसेर टार्छौ, ख्यालख्यालमै पन्छाउँछौ।….”
यो संवाद केवल दुई पात्रबीचको असमझदारी मात्र होइन, कतिपय अवस्थामा समाजमा देखिने मौनता र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिमाथिको टिप्पणी पनि हो। त्यस्तै, कथामा आएको अर्को राजनीतिक अभिव्यक्ति झनै विचारणीय छ–“मित्रहरूले प्रजातन्त्र र गणतन्त्र ल्याउन सघाए– नेपाली जनताको निम्ति भन्दा आ–आफ्नो निम्ति गरेको साबित भयो।” यो वाक्यले नेपाली राजनीतिको एउटा तीतो यथार्थलाई उजागर गर्छ। परिवर्तनका लागि सँगै हिँडेका पात्रहरू, उनीहरूले देखेका सपना र परिवर्तनपछि देखिएको व्यवहारबीचको अन्तरलाई कथाकारले संवादमार्फत प्रस्तुत गरेका छन्।
‘कल्पना’ कथा पढिरहँदा लाग्यो, यो मनोरञ्जन दिने कथामात्र होइन। यसले एउटा आदर्श घर कस्तो हुनुपर्छ भन्ने विषयदेखि घरभित्रको पढ्ने कोठा, आराम गर्ने कोठा र अतिथि सत्कार गर्ने कोठासम्मको परिकल्पना प्रस्तुत गर्छ। उमेरअनुसारको खानपिन, उचित साथीसङ्गत, साथीहरूबीचको संवाद, अध्ययनको महत्व र देशको राजनीतिक अवस्थासम्मका विषय कथाभित्र समेटिएका छन्।
यस अर्थमा कथाकारले काल्पनिक पात्र र घटनाको सहाराले पाठकलाई सामाजिक जीवनको व्यावहारिक पाठ पढाउन खोज्नुभएको देखिन्छ। घरपरिवार कसरी व्यवस्थित हुनुपर्छ, बालबालिका तथा युवाको व्यक्तित्व विकासमा कस्तो वातावरण आवश्यक हुन्छ र राजनीतिक चेतना कस्तो हुनुपर्छ भन्ने विषयलाई उदाहरणसहित प्रस्तुत गरिएको छ।

‘नयाँ पुस्ता’ : सम्बन्ध, राजनीति र पुस्तान्तरणको कथा
सङ्ग्रहको शीर्षक कथा ‘नयाँ पुस्ता’ पनि उत्तिकै सशक्त छ। यसमा युवा राजनीतिक कार्यकर्ता ‘अनन्त’को जीवन र राजनीतिक यात्रालाई केन्द्रमा राखिएको छ। अनन्त, कान्छा दाइ (बा), आमा र बुहारी केशरीबीच हुने संवाद तथा पारिवारिक प्रसङ्गमार्फत कथाकारले अनन्तको राजनीतिक जीवनका विभिन्न पाटाहरू उजागर गर्नुभएको छ। राजनीतिक यात्राका क्रममा सँगै हिँडेका तर पछि छुटेका साथीहरू, चाहेर पनि सँगै यात्रा गर्न नसकेका सहयात्रीहरू र बदलिँदो परिस्थितिले मानिसहरूबीच ल्याउने दूरीलाई कथाले स्मरण गराउँछ।
कथामा आमासँगको संवादका क्रममा आएको एउटा वाक्य मन छुने खालको छ–“आमा, मानिस र साथीहरू सबै बेइमान हुँदैनन्।” यो अभिव्यक्तिले सम्बन्धमा आउने उतारचढावलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने सन्देश दिन्छ। राजनीतिक यात्रामा विचार, परिस्थिति र उद्देश्य फरक हुँदै जाँदा सहयात्रीहरू छुट्टिन सक्छन्। तर सबै छुट्टिनेहरू बेइमान हुँदैनन् भन्ने मानवीय पक्षलाई कथाले उजागर गरेको छ। त्यसैगरी, कथामा प्रस्तुत अर्को विचारले सामाजिक सम्बन्ध र सङ्गठनको महत्वलाई प्रस्ट पार्छ–“समयसँगै साथीहरू छुट्दै जाने हैन, मानिसहरूको सामाजिक, आर्थिक, सांस्कृतिक आदि परिस्थिति र उद्देश्य छुट्दै जाने र सामूहिक सङ्गठनात्मक कक्षाले मात्रै एकतामा बाँध्ने देखिन्छ।” यो कथाको एउटा महत्वपूर्ण वैचारिक पक्ष हो। मानिसहरूबीचको सम्बन्ध केवल व्यक्तिगत मित्रताले मात्र टिक्दैन। उनीहरूको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था, जीवनका उद्देश्य तथा सामूहिक सङ्गठनले पनि सम्बन्धको निरन्तरता निर्धारण गर्छन् भन्ने आशय यसमा देखिन्छ। अर्को महत्त्वपूर्ण प्रसङ्गमा कथाकारले पुस्तान्तरण र महिला नेतृत्वको विषयलाई उठाउनुभएको छ– “वर्षौंदेखिका सामाजिक समस्या र महिला सम्बन्धी समस्या एउटै पुस्ताले समाधान गर्न सक्दैन। अब नयाँ पुस्ताले समस्या समाधान गर्ने र त्यसमा आमा, दिदीबहिनीहरूको महत्त्वपूर्ण हात हुनेछ। अझै अब नेपाली समाजको नेतृत्व महिला वर्गले गर्नेछ।”
यस अभिव्यक्तिमा कथाको मूल मर्म भेटिन्छ। सामाजिक समस्या समाधानका लागि पुस्तान्तरण आवश्यक छ। नयाँ पुस्ताले पुराना समस्याको समाधान खोज्नुपर्छ र त्यस प्रक्रियामा महिलाको भूमिका निर्णायक हुनुपर्छ भन्ने विचार कथाले अघि सारेको छ। ‘नयाँ पुस्ता’ शीर्षकको सार पनि यही पुस्तान्तरण, सामाजिक रूपान्तरण र महिला सहभागिताको परिकल्पनामा केन्द्रित रहेको अनुभूति हुन्छ।

समयको दस्ताबेज, केही अपेक्षा र सम्पादनको पक्ष
यस सङ्ग्रहमा समेटिएका कथाहरू वि.सं. २०७२ देखि २०८० सालसम्म लेखिएका रहेछन्। अर्थात्, देशको राजनीतिक, सामाजिक र सांस्कृतिक जीवनमा विभिन्न उतारचढाव देखिएको समयका सिर्जना यसमा समेटिएका छन्। पुस्तकको शीर्षक ‘नयाँ पुस्ता’ भएकाले अहिलेको जेन्जी विद्रोह र नयाँ पुस्ताको राजनीतिक चेतनाबारे पनि केही कथा पढ्न पाइएला भन्ने अपेक्षा थियो। तर ती घटनाक्रमसँग सम्बन्धित कथा यस सङ्ग्रहमा समेटिएका छैनन्। शीर्षकले सिर्जना गरेको अपेक्षा र पुस्तकभित्रका कथाहरूको समयसीमाबीचको यो अन्तरले भने केही खल्लो महसुस गरायो। यद्यपि, कथाहरू लेखिएको समय र प्रकाशनको समयबीचको सम्बन्धलाई हेर्दा यो स्वाभाविक पनि हो।
पुस्तकमा केही सम्पादकीय त्रुटि पनि देखिन्छन्। ‘एक सहयोगी’ कथाको दोस्रो खण्डमा ‘म घर पुग्यो’ लेखिएको छ। त्यस्तै, पाँचौँ खण्डमा भाइ एकैपटक देखा पर्दा पाठकलाई पात्रको सम्बन्ध बुझ्न अलमल हुन सक्छ। यस्ता ठाउँमा भाषिक एकरूपता र पात्रको निरन्तरतामा थप सम्पादन आवश्यक देखिन्छ। समग्र पुस्तकको प्रस्तुतिमा यस्ता साना कमजोरीले केही असर पारेका छन्।

दुई बसाइँमा सकिएको पुस्तक
सङ्ग्रहको अन्तिमतिरबाट पढ्न सुरु गरेको यो पुस्तक दुई बसाइँमै सकियो। कथाहरूको विविधता, विषयवस्तु र कतिपय कथामा प्रस्तुत विचारले पढाइलाई निरन्तरता दिन प्रेरित गरे। राम्रो कभर, गुणस्तरीय कागज र २४ वटा कथाको सङ्ग्रहका लागि रु. ३५० मूल्य महँगो लागेन। पुस्तक प्रकाशन गर्ने ‘मजदुर’ दैनिकलाई धन्यवाद। ‘नयाँ पुस्ता’ कथासंग्रह घटनाहरूको संयोजन भएको कथासङ्ग्रह मात्र होइन। यसमा परिवार, समाज, मित्रता, राजनीति, पुस्तान्तरण, महिला नेतृत्व र सामाजिक रूपान्तरणका विषयले ठाउँ पाएका छन्। कतिपय कथाले मनोरञ्जन दिन्छन्, कतिपयले सोच्न बाध्य बनाउँछन् भने केहीले समाज र राजनीतिको वर्तमान अवस्थामाथि प्रश्नसमेत उठाउँछन्।
मलाई विशेष गरी ‘कल्पना’ र ‘नयाँ पुस्ता’ ले बढी छोयो । यी कथामा कथाकारको अनुभव, राजनीतिक चेतना, सामाजिक दृष्टिकोण र भविष्यप्रतिको अपेक्षा अभिव्यक्त भएको महसुस हुन्छ। कथा पढ्न त्यति रुचि नराख्ने पाठकका रूपमा पनि यो सङ्ग्रहले मलाई दुई बसाइँसम्म बाँधेर राख्यो। सायद कुनै पुस्तकको सफलता यही हो– पाठकलाई आफूले रोजेको विधाभन्दा बाहिर गएर पनि पढिरहन प्रेरित गर्नु।
अन्त्यमा, हरिबहादुर श्रेष्ठ दाइलाई एउटा पाठकीय आग्रह– कथामा मात्रै होइन, तपाईंले कहिलेकाहीँ सुनाउनुभएको युवा पुस्ता र समाजको जीवनसँग जोडिएका ती कल्पनाहरूलाई उपन्यासका रूपमा पनि पढ्न पाइयोस्। तपाईंको उपन्यासको प्रतीक्षामा छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको