आइतवार, मंसिर ७, २०८३

21.1 C
Bhaktapur
आइतवार, मंसिर ७, २०८३
21.1 C
Bhaktapur
HomeNews Contentखेलकुदचाँगुनारायण–९ मा प्रथम वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, उपाधि तोलाङ्गे टोलीलाई

चाँगुनारायण–९ मा प्रथम वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, उपाधि तोलाङ्गे टोलीलाई

भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ९ को आयोजनामा तथा ताथली ब्याडमिन्टन समूहको सहकार्यमा सञ्चालित प्रथम वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। ताथलीस्थित पण्डित पँधेरोमा रहेको ब्याडमिन्टन हलमा आयोजित प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।

प्रतियोगिताको फाइनल खेलमा सुबन तोलाङ्गे–सुमन तोलाङ्गेको टोलीले सञ्जीव केसी–हरि श्रेष्ठको टोलीलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ। प्रतिस्पर्धात्मक फाइनल खेलमा पहिलो सेट २१–१६ ले तोलाङ्गे टोलीले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा केसी नेतृत्वको टोलीले २३–२१ को जित निकाल्दै खेल बराबरीमा पुर्‍याए पनि निर्णायक तेस्रो सेटमा तोलाङ्गे टोलीले २४–२२ को जित निकाल्दै उपाधि आफ्नो बनायो।त्यसैगरी वसन्त थापा र माधव बस्नेतको टोली तृतीय भएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १० हजार रुपैयाँसहित सम्मानपत्र, द्वितीय हुने टोलीले नगद ८ हजार रुपैयाँसहित प्रमाणपत्र र तृतीय हुने टोलीले नगद ५ हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष गणेश त्यातले खेलकुद शारीरिक स्वास्थ्यका लागि मात्र नभई व्यक्तित्व विकास, आत्मनिर्भरता र धैर्यशीलता अभिवृद्धिका लागि पनि महत्त्वपूर्ण रहेको बताए। उनले वडाभित्र लुकेर रहेका प्रतिभावान् खेलाडीको पहिचान, प्रोत्साहन र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे।

वडाले कला र संस्कृतिसँगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखेर गतिविधि अघि बढाइरहेको बताउँदै उनले युवाहरूलाई लागूऔषध दुर्व्यसनबाट टाढा राख्न खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

कार्यक्रममा कार्यपालिका सदस्य कमला गिरी भारती, राष्ट्रिय रेफ्री सबिन ढुङ्गेल र चाँगुनारायण नगर खेलकुद संयोजक रघु केसीले पनि खेलकुदको महत्त्वबारे धारणा राखेका थिए।

राष्ट्रिय रेफ्री ढुङ्गेलले प्रतियोगिताका नियम तथा खेल सञ्चालनका विधिबारे जानकारी दिँदै ब्याडमिन्टन अनुशासन, धैर्य र आपसी सद्भाव विकास गर्ने भलाद्मी खेल भएको बताए। उनले वडाले खेलकुद क्षेत्रमा गरिरहेको प्रयासको प्रशंसा गरे।

त्यस्तै नगर खेलकुद संयोजक केसीले नगरपालिकाले सबै वडामा खेलकुदलाई प्राथमिकता दिँदै विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताए। खेलाडीको प्रतिभा प्रस्फुटन र प्रोत्साहनका लागि स्थानीय तहबाट निरन्तर प्रयास भइरहेको उनको भनाइ थियो।

ताथली ब्याडमिन्टन समूहका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश न्हेमाफुकीको संयोजनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, खेलाडी, कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन विजयराम वनमालाले गरेका थिए भने विजयी खेलाडीलाई वडा अध्यक्ष त्यातले पुरस्कार वितरण गरेका थिए।

वडास्तरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलाडीबीच प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै खेलकुद गतिविधिलाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको