भक्तपुर । भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमीमा विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित ‘पारागन आइडल’अन्तर्गत एकल नृत्य तथा एकल गायन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका भाइस प्रिन्सिपल राजेन्द्र फोजुको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरूले आफ्नो गायन तथा नृत्यकला प्रस्तुत गर्दै प्रतिभा प्रदर्शन गरेका थिए। प्रतियोगिताको मूल्याङ्कन बद्री नारायण ताम्राकार, द्वारिका अधिकारी र सुपृन्स तामाङ सम्मिलित निर्णायक मण्डलले गरेको थियो।
प्रतियोगिताअन्तर्गत एकल नृत्यको सब-जुनियर विधामा लियना श्रेष्ठ प्रथम, पृन्सिका तामाङ द्वितीय, आरभी प्रधान तृतीय र आरोग्या वैद्य सान्त्वना स्थान हासिल गर्न सफल भए। त्यसैगरी, जुनियर विधामा सरगम थापा प्रथम, विद्या तामाङ द्वितीय, रिया शिवभक्ति तृतीय र काब्या कवा सान्त्वना स्थानमा रहे।
सिनियर विधातर्फ सुश्मा लामा प्रथम, प्रेरणा तामाङ द्वितीय, सुप्रिया लामा तृतीय र दृष्टि कोजुले सान्त्वना स्थान प्राप्त गरे। एकल गायन प्रतियोगितामा भने इनिशा तामाङ प्रथम, अर्जित घतानी द्वितीय, निपुण किसी तृतीय र अनया अवाल सान्त्वना स्थान हासिल गर्न सफल भए।
समारोहमा विजेता तथा सहभागी विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल पुण्य राम कवांले ट्रफी र विद्यालय व्यवस्थापक रत्न वीर किसीले मेडल प्रदान गरे। सेकेन्डरी इन्चार्ज सागर पराजुली, प्राइमरी इन्चार्ज शर्मिला अवाल र प्रि-प्राइमरी इन्चार्ज बिन्दु घिमिरेले संयुक्त रूपमा प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा अतिथि तथा निर्णायकहरूलाई खादा ओढाएर सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा प्रिन्सिपल पुण्य राम कवांले विजयी विद्यार्थीहरूलाई बधाई दिँदै आगामी तिहार पर्वको शुभकामना व्यक्त गरे। विद्यालय व्यवस्थापक रत्न वीर किसीले पठनपाठनका अतिरिक्त विद्यार्थीमा रहेको प्रतिभा उजागर गर्न विद्यालयले नियमित रूपमा यस्ता रचनात्मक तथा अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएको बताए।
यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कला, संस्कृति र सिर्जनात्मक अभिव्यक्तिप्रति अभिरुचि बढाउन सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ।
