- हरिसुन्दर छुकां
कार्तिक शुक्ल पूर्णिमाको रात। आकाशमा पूर्ण चन्द्रमा चम्किरहेको हुन्छ। जूनको शीतल उज्यालोमा खगां टोलकाे माझमा अवस्थित भैल द्य :मन्दिर परिसर झन् आकर्षक देखिन्छन्। यही उज्यालोमा विभिन्न अन्न तथा गेडागुडी मिलाएर बनाइएका धार्मिक चित्र टलक्क टल्किँदा दृश्य लोभलाग्दो हुन्छ। अन्नका दानाबाट तयार भएका ती आकृतिले पर्वको शोभामात्र बढाउँदैनन्, स्थानीय कला, कृषि जीवन र धार्मिक आस्थाको कथा पनि सुनाउँछन्।
भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित सौडोलको खगां टोलको विशिष्ट सांस्कृतिक पहिचान हो—सकिमाङा पुन्ही। यस दिन यहाँ नारायण द्यः ब्वेकयगु गरिन्छ। अन्नका चित्र, चामलको पिठोबाट बनाइने देवीदेवताका मूर्ति, भगवान् विष्णुको थाङ्का, भैरव थानअगाडि गरिने नसा ब्वयकेगु र भजनकीर्तन यस पर्वका विशेषता हुन्। यी परम्पराले खगांलाई एउटा विशिष्ट सांस्कृतिक बस्तीका रूपमा चिनाएका छन्।
सौडोलका तीन टोलमध्ये खगां
सौडोलमा थने, गचा र खान्चा अर्थात् खगां गरी तीन टोल छन्। खगांमा बासुकला र छुकां थरका परिवारहरूको बाहुल्य छ। पारिवारिक निकटता, साझा धार्मिक अभ्यास र सामुदायिक सहकार्य यहाँको सामाजिक जीवनका विशेषता हुन्। भौगोलिक रूपमा खगां हालको देवी माध्यमिक विद्यालयदेखि माथि, भैरव मन्दिर र महाकाली मन्दिर रहेको उचाइको क्षेत्रमा अवस्थित छ। खगांलाई अपभ्रंशित रूपमा ‘खान्चा’ पनि भनिन्छ र यस क्षेत्रलाई खान्चा डाँडा भनेर चिनिन्छ।
खगां नामसँग जोडिएको खट अर्थात खचा
नेपालभाषामा ‘ख’ भन्नाले खट र ‘गां’ भन्नाले गाउँ भन्ने स्थानीय भाषिक व्याख्या छ। यसअनुसार खगांको अर्थ खट भएको गाउँ वा खटसँग सम्बन्धित गाउँ भन्ने हुन्छ। स्थानीय किंवदन्तीअनुसार विगतमा सकिमाङा पुन्हीका अवसरमा यहाँ विशेष प्रकारको खट बनाउने चलन थियो। अन्यत्र काठ वा बाँसबाट खट बनाइने भए पनि खगांमा उखुका बोट प्रयोग गरिन्थ्यो। चारैतिर उखुका बोट ठड्याएर बीचमा देवता राख्ने व्यवस्था गरी खट तयार पारिन्थ्यो। उखुका बोटबाट खट निर्माण गर्ने यो शैली खगांको मौलिक परम्परा थियो। स्थानीय जनश्रुतिअनुसार यही खट निर्माण र धार्मिक अनुष्ठानको प्रचलनबाट यस ठाउँको नाम खगां रहन गएको हो। ख दगु गां अर्थात खछ भएकाे गाउँबाट खगां नामकरण भएको देखिन्छ । अहिले पनि थने, गचाका स्थानीय यश टाेललाई खगाम् भन्ने गर्दछन् । समयक्रममा उखुको खट बनाउने परम्परा रोकिए पनि त्यसको सम्झना टोलको नाम र सकिमाङा पुन्हीको सांस्कृतिक स्मृतिमा बाँकी छ। यसको ऐतिहासिक पुष्टि गर्न भने थप अभिलेखीय तथा सांस्कृतिक अनुसन्धान आवश्यक छ।
अन्नका दानामा धार्मिक कला
सकिमाङा पुन्ही हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइन्छ। नेवार समुदायमा यसलाई धानबाली भित्र्याएको खुसीयालीसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ। यस अवसरमा तरुल, पिँडालु र सखरखण्डजस्ता कन्दमूल उसिनेर खाने तथा भुटेका अन्नबाट आकृति बनाउने चलन छ। खगांमा भने अन्न र गेडागुडीबाट धार्मिक चित्र बनाउने परम्पराले विशेष महत्त्व पाएको छ। चामल, गहुँ, मकै, केराउ, सिमी, भटमासलगायतका अन्नलाई आकार र रङअनुसार मिलाएर विभिन्न आकृति तयार पारिन्छन्। सामान्यतः भान्सामा प्रयोग हुने अन्नलाई कलाको सामग्री बनाउनु यस परम्पराको सुन्दर पक्ष हो। यी चित्र बनाउन धैर्य, सीप र सिर्जनशीलता चाहिन्छ। सानासाना दानालाई मिलाएर तयार पारिएका आकृतिमा पूर्णिमाको जूनको उज्यालो पर्दा टलक्क टल्किने दृश्यले पर्वलाई थप आकर्षक बनाउँछ। यसले अन्नप्रतिको सम्मानसँगै कृषि जीवन र धार्मिक आस्थाबीचको सम्बन्ध पनि देखाउँछ।
फाँध्यामाथि चामलको पिठोका मूर्ति
खगांको अर्को मौलिक कला हो—चामलको पिठोबाट देवीदेवताका मूर्ति बनाउने परम्परा। यसका लागि चामलको पिठो मुछेर नरम बनाइन्छ। स्थानीय भाषामा ‘फाँध्या’ अर्थात् पाथीलाई त्यही पिठोले बाहिरबाट बेरेर आधार तयार पारिन्छ। त्यसपछि त्यसमाथि गणेश, भगवान् विष्णुलगायतका देवीदेवताका आकृति बनाइन्छन्। हातैले पिठोलाई आकार दिएर मूर्ति तयार पार्न कलात्मक सीप र धैर्य आवश्यक पर्छ। ढुङ्गा, काठ, धातु र माटोबाट मूर्ति बनाउने चलन परिचित भए पनि चामलको पिठोलाई मूर्तिको माध्यम बनाउने खगांको यो अभ्यास विशेष अध्ययनयोग्य छ। यसले स्थानीय हस्तकला र सांस्कृतिक ज्ञानलाई एउटै स्वरूपमा प्रस्तुत गर्छ।
थाङ्कामा विष्णु, भैरव थानमा नसा ब्वयकेगु
सकिमाङा पुन्हीमा भगवान् विष्णुको चित्रसहितको थाङ्का पनि राखिन्छ। नारायण द्यः ब्वेकयगुसँग सम्बन्धित यस परम्पराले पर्वको धार्मिक स्वरूपलाई थप विशिष्ट बनाउँछ। त्यसैगरी भैरव थानअगाडि नसा ब्वयकेगु गर्ने र मूर्ति सजाउने चलन छ। स्थानीय जानकारहरूका अनुसार अन्य ठाउँमा नसा ब्वयकेगु मात्र गरिने भए पनि खगांमा खसहित नसा ब्वयकेगु गर्ने विशेषता छ। यस परम्पराले खगांको सांस्कृतिक पहिचानलाई थप फरक बनाएको छ । पर्वका अवसरमा स्थानीयवासी भेला भएर भजनकीर्तन गर्छन्। नेवार समुदायको दाफा तथा भजन परम्पराले धार्मिक आस्था अभिव्यक्त गर्नुका साथै मौखिक संस्कृति र संगीतलाई पुस्तान्तरण गर्दै आएको छ। खगांमा सकिमाङा पुन्ही खगां दाफा भजन खलः र स्थानीयवासीको सहयोग तथा सहकार्यमा मनाइन्छ। धार्मिक अनुष्ठान, भजन र प्रसाद वितरणमा टोलवासीको सहभागिताले पर्वलाई सामूहिक उत्सवको स्वरूप दिएको छ।
नाममा बाँचेको परम्परा, संरक्षणको आवश्यकता
खगांको उखुको खट आज देखिँदैन। तर त्यसको सम्झना नाममा बाँचेको छ। सकिमाङा पुन्हीमा नारायण द्यः ब्वेकयगु, अन्नका चित्र बनाउने, चामलको पिठोबाट मूर्ति तयार पार्ने र नसा ब्वयकेगुजस्ता अभ्यासले पुरानो सांस्कृतिक निरन्तरतालाई जीवित राखेका छन्। यी परम्पराको संरक्षणका लागि स्थानीय ज्येष्ठ नागरिकसँग मौखिक इतिहास संकलन गर्नु, पुराना विधि र सीपको अभिलेखीकरण गर्नु तथा पर्वका गतिविधिको तस्बिर र भिडियो सुरक्षित राख्नु आवश्यक छ। विशेषगरी उखुको खट कसरी बनाइन्थ्यो, त्यसमा कुन देवता राखिन्थ्यो र खसहित नसा ब्वयकेगुको विधि के थियो भन्ने विषयमा थप अध्ययन हुन सके खगांको सांस्कृतिक इतिहास अझ स्पष्ट हुनेछ। पूर्णिमाको जूनेली रातमा अन्नका चित्र टलक्क टल्किँदा खगां टोलको संस्कृति पनि उज्यालिन्छ। उखुको खटको स्मृति, अन्नका दानामा कोरिएको कला, पिठोबाट बनेका देवीदेवताका आकृति र भजनका स्वर—यी सबैले एउटा सानो बस्तीको ठूलो सांस्कृतिक कथा सुनाउँछन्।
स्रोत तथा सन्दर्भ :
१. ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक।
२. स्थानीय जानकार पञ्चलाल बासुकला।
३. स्थानीय जानकार मोहनकुमार छुकां र कृष्णगोपाल छुकां।
४. खगां टोलमा गरिएको स्थलगत अध्ययन, खगां दाफा भजन खलः तथा स्थानीय मौखिक परम्परा।
५. चाँगुपत्र साप्ताहिक
